काठमाडौं । नेकपा एमालेका नेता तथा उपाध्यक्ष भिम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको गोप्य सम्झौता भएको दाबी गर्नु भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै रावल यस्तो बताउनु भएको हो ।
उहाँले एमसीसीको सम्बन्धमा गोप्य सम्झौताहरु भएको भन्दै सबै सम्झौता संसदमा पेश गरी सार्वजनिक गर्न माग समेत गर्नु भएको छ । रावलले भन्नुभयो –‘एमसीसीको मूल सम्झौता मात्रै यहाँ पेश भएको छ, सँगसँगै थुप्रै गोप्य सम्झौता भएका छन् ती सबै सार्वजनिक गरियोस् ।’
नेता रावलले तत्कालीन मन्त्रीबाट एमसीसी कार्यान्वयन सम्झौता गरिएको भन्दै त्यसको प्रतिलिपि प्रतिनिधिसभामा पेश गरी सबै सांसदहरुले अध्ययन गर्न पाउनु पर्ने माग गर्नु भएको छ । ‘मैले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट गठित पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा जुन कार्यदल बनेको थियो त्यहाँ रहँदा धेरैजसो सम्झौताहरु पढ्ने अवसर पाएँ ।
तर केही सम्झौताहरु अझै प्राप्त हुन सकेन् । उदाहरणका रुपमा जब प्रतिनिधि सभामा त्यो सम्झौता अनुमोदन भएको छैन भने त्यसको कार्यान्वयन सम्झौता कसरी हुन्छ ? सम्झौता अनुमोदन नभई नुवाकोटका जग्गाहरू कसरी अधिग्रहण हुन्छ ? त्यसको कार्यालय कसरी खुल्छ ? र एउटा पाँच तारे होटलमा त्यसको कार्यालय खोलेर नेपाली जनताको राजस्वबाट रेडियो र टेलिभिजनमा त्यो अनुदानको प्रशंसाको गीत गाउने कुरा कसरी हुन्छ । ‘
नेता रावलले देश सानो ठूलो भएपनि देशको स्वाधिनता समान हुने भन्दै देशको सम्झौतामा खतरा आउने कुनै पनि सम्झौत गर्न नहुने धारणा राख्नु भयो ।
प्रतिकृया