“चेतावनीसहित महेन्द्रले माओलाई पठाएको त्यो चिठी
माओत्से तुङले राजा महेन्द्रको चिठी दोभाषेमार्फत सुनेपछि भने, ‘आफ्नो देशको लागि सम्पूर्ण त्याग्न तयार मैले २ वटा राजा मात्र देखें । एउटा कम्बोडियाको सिंहानुक र अर्को तिम्रा राजा।”
राजा त्रिभुवन आफ्ना जेठा छोरा युवराज महेन्द्रलाई शासनाधिकारको अख्तियारनामा दिएर उपचारका लागि युरोप गएका थिए । यो २०१० सालतिरको कुरा हो । प्रधानमन्त्री मातृकाप्रसाद कोइराला थिए ।
महेन्द्रले मलाई बोलाएर भने, ‘तिमीलाई एउटा जिम्मेवारी दिन लागेको छु । यो सफल पनि हुनसक्छ, विफल पनि हुनसक्छ । विफल भयो भने तिमीलाई जोखिम पनि हुनसक्छ । तर सफल भयो भने देशका लागि ठूलो उपकार हुनेछ ।’
मैले सोधें, ‘के कुरा हो त्यस्तो सरकार ?’
महेन्द्रले भने, ‘म चीनका माओत्से तुङको नाममा सोझै चिठ्ठी लेख्दैछु । इन्डियालाई छनक पनि दिनुहुँदैन । तिमीले यो पत्र लिएर बोर्डरमा पुग्दा चाइनिजले पत्याए भने त कुरै सिद्धिहाल्यो । तर इन्डियन सीआईडी हो कि भनी आशंका गरेर गिरफ्तार गर्यो भने मैलै चिन्दिनँ भन्नुपर्छ ।’
महेन्द्रले एउटा चिठी मात्र दिए, बाटो खर्च पनि दिन सक्दिनँ भने । मैले महेन्द्रसँग भेटेपछि मसँगै पहिले तिब्बतमा निर्वासनमा गएका मनाङेहरू पनि काठमाडौं आइपुगे । उनीहरूसँग सामूहिक छलफलपछि हामी मनाङतिर लाग्यौं । मनाङबाट करिब ५० जनाको टोली बनायौं र ६० वटा चौंरीमा चामल बोकाएर तिब्बततर्फको हाम्रो यात्रा प्रारम्भ भयो ।
राति जहाँ पुग्थ्यौं, पाल टागेर सुत्थ्यौं । हामीले साथमा राइफल पनि बोकेका थियौं । यिनीहरूसँग नगद छ भनेर खम्पाहरू लुट्न आइहाल्थे । त्यसैले राति हामी पाल टागेर सुत्थ्यौं र केहीले राइफल बोकेर पहरा दिन्थे । ड्याङ…ड्याङ केही राउन्ड फायर गरेपछि हतियार छ भन्ने थाहा पाएर खम्पाहरू हामी नजिक आउन डराउँथे । ब्रह्मपुत्रको किनारमा पुग्नुअघि तिब्बती गाउँ पुगेपछि हतियार लुकायौं ।
मनाङबाट ब्रह्मपुत्र किनारमा पुग्न हामीलाई १ हप्ता लाग्यो । त्यहाँ फेरि त्यही चिनियाँ जनमुक्ति सेनाको जर्नेल, जोसँग मेरो पहिला कुराकानी भएको थियो, उनैलाई फेरि भेटें । मैले भनें, ‘नेपालका राजा महेन्द्रले पठाएर म यहाँ आएको हुँ ।’
मैले महेन्द्रले माओलाई लेखेको पत्र देखाउँदै भने, ‘ल, खोलेर पढ्ने भए पढ्नुस् ।’ उसले मानेन । तिमीले नै माओलाई देऊ भन्यो । हामीलाई त्यही १ हप्ता जति राखे र पछि ल्हासा जाने इजाजत दिएको छ, भनियो । त्यसपछि हामी ल्हासातर्फ लाग्यौं । त्यहाँबाट झण्डै २२/२३ दिन लाग्यो ल्हासा पुग्न । ल्हासामा हाम्रो वाणिज्य दूतावास थियो तर हामी त्यहाँ जाने कुरा भएन ।
जर्नेलले चाइनिज भाषामा एउटा पत्र लेखेर दिएका थिए । त्यो चिनियाँ अधिकारीसँग सम्पर्क भएर बुझाएपछि हामीलाई होटलमा राखे । फेरि १ महिना कुर्नुपर्यो त्यहाँ । त्यो बेला डेकोडा जहाज हुन्थ्यो । डेकोडा प्लेनमा कलकत्ताबाट काठमाडौं आइपुग्न नै ८ घण्टा लाग्थ्यो ।
मलाई डेकोडा प्लेनमा ल्हासाबाट पेकिङ (अहिले बेइजिङ) पुग्न ३ दिन लाग्यो । हाम्रो समूहका बाँकी सबैलाई फर्कन र मलाई मात्र पत्र बोकेर जान भनिएको थियो । त्यहाँ नेपाली भाषा बुझ्ने दोभाषेको खोजी भएछ भित्रभित्रै । अन्ततः दार्जिलिङतिर व्यापार गरेर बसेको चाइनिजलाई दोभाषे बनाएर माथि ल्याएका रहेछन् । त्यहीँ ३५/४० वर्ष जतिको थियो त्यो मान्छे ।
म पेकिङ पुगेपछि भोलि पल्टै मलाई परराष्ट्र मन्त्रालयमा बोलाइयो । त्यहाँ प्रधानमन्त्री चाउ एन लाईसँग भेट भयो । तपाईंलाई स्वागत छ भने । मैले राजाको चिठी दिन खोजें । चाउ एन लाईले तिमी आफैं अध्यक्ष, माओलाई देऊ भने । त्यहाँ झण्डै २/३ घण्टा कुराकानी भयो ।
भोलिपल्ट माओलाई भेट्न जाने तयारी भयो । बेइजिङबाट झण्डै १ घण्टाजति लाग्यो माओ बस्ने ठाउँ पुग्न । अलि गाउँजस्तो ठाउँ, टायलले छाएको १ तले घरमा बस्दा रहेछन् माओ । वरिपरि सैनिक पहरा थियो । दोभाषे पनि मसँगै गयो । मैले पत्र माओलाई दिएँ । उनले हेरे । दोभाषेमार्फत झण्डै पौने घण्टाजति माओले पत्रबाहेक अरु कुरा पनि सोधे, मैले जवाफ दिएँ ।
माओत्से तुङले राजा महेन्द्रको चिठी दोभाषेमार्फत सुनेपछि भने, ‘आफ्नो देशको लागि सम्पूर्ण त्याग्न तयार मैले २ वटा राजा मात्र देखें । एउटा कम्बोडियाको सिंहानुक र अर्को तिम्रा राजा ।’
पत्रमा महेन्द्रले हामी भारतको सांस्कृतिक, राजनीतिक, आर्थिक सबै प्रभावबाट मुक्त हुन चाहन्छौं । नेपालमा भारतको बढ्दो प्रभाव रोक्न नेपालका इन्डियन मुलइतरका मुलवासीहरूलाई आ-आफ्नो क्षेत्रमा स्वायत्तता-स्वशासन दिएर अघि बढाए मात्रै नेपालमा इन्डियन प्रभाव क्रमशः घट्दै जान्छ । तर त्यसो गर्दा इन्डियाले नेपालमा अशान्ति र विद्रोह गराइदिन सक्छ । त्यस्तो परिस्थिति सिर्जना भएको खण्डमा त्यसलाई समाधान गर्न चीनसँग सहयोग समेत मागेका थिए, महेन्द्रले । परिआएमा उनले आफू राजगद्दी त्याग्न पनि तयार र कम्युनिष्ट बन्न पनि तयार रहेको बताएका थिए ।
त्यो बेला नेपाल संयुक्त राष्ट्रसंघको सदस्य बनिसकेको थिएन । न त चीन नै राष्ट्रसंघको सदस्य थियो । तर भिटो पावर भएको राष्ट्र रुससँग चीनको निकटताका कारण महेन्द्रले माओसँग नेपाललाई स्विजरल्यान्ड जस्तो तटस्थ देश बनाउनसमेत सहयोग माग्दै एसिया मामिला हेर्ने राष्ट्रसंघको एउटा शाखा काठमाडौंमा राख्न समेत प्रस्ताव गरेका थिए ।
महेन्द्रले चीनसँग दौत्य सम्बन्ध कायम गर्न चाहेको तर नेपालले सोजै यो इच्छा जाहेर गरेमा इन्डियाले कडा प्रतिवाद गर्ने भएकाले चिनियाँ पक्षबाट सो पहल गर्नका लागि समेत माओलाई पत्रमा अनुरोध गरेका थिए । त्यो बेला नेपालमा इन्डियन आर्मी मिसन सक्रिय थियो ।
मैले अन्त्यमा माओलाई भने, ‘दौत्य सम्बन्ध कायम गर्नका लागि प्रस्ताव तपाईँहरुबाटै आउनुपर्यो । हामीले चीनसँग दौत्य सम्बन्ध कायम गर्छौं भन्यौं भने इन्डियाले अवरोध गर्नसक्छ । दलाई लामाले वार्षिक १० हजार नेपाल सरकारलाई बुझाइरहेको रकम चीनले नै बुझाएको जस्तो हो । त्यो अन्त्य हुनुपर्यो भनेर कुरा गर्न नेपाल आउनुस् । राजा महेन्द्रले त्यही सल्लाह दिएका छन् ।’
माओ खुसी भए । हुन्छ, त्यो हामी गर्छौं भने । उनी निकै मसिनो स्वरमा बोल्थे । माओसँगको भेटपछि गोप्यताका कारण म तिब्बत हुँदै मनाङ फर्किएँ ।
(सोमबार निधन भएका पूर्वमन्त्री खगेन्द्रजंग गुरुङसँग महेन्द्रले माओलाई पठाएको चिठीको सन्दर्भमा पत्रकार अर्जुन मादेन लिम्बुले गरेको कुराकानीमा आधारित ।) अनलाइन खबरबाट ।
प्रतिकृया