काठमाडौं। लामो समयको प्रतिक्षापछि नेपाल प्रहरीले १६ जना डीआईजीको सरुवा निकालेको छ । सरुवाको एक वर्ष अवधि पुगेका डीआईजीहरुलाई सरुवा गरिएको हो । प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा रहेका डीआईजीहरुको सरुवा भएको हो ।
गृहमन्त्रीमा खगराज अधिकारी आएपछि आजै डीआईजी र एसएसपीको सरुवा निकालिएको छ । प्रहरीका डीआईजीहरुका लागि आकर्षक र महत्वपूर्ण मानिने प्रदेश–१ प्रहरी कार्यालयमा डीआईजी अरुणकुमार बिसीले बाजी मारेका छन् । उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।
त्यस्तै अर्को आकर्षक मानिएको प्रदेश–२ मा उमेश रञ्जितकारको सरुवा भएको छ । अर्को आकर्षक मानिने केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईवी) मा धीरजप्रताप सिंहले बाजी मारेका छन् । उनी प्रदेश २ मा कार्यरत थिए । सीआईवीमा उत्तमराज सुवेदीको पनि चर्चा थियो तर उनको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको छ ।
त्यसैगरी बागमती प्रदेशमा प्रकाशजंग कार्की, गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्दराज आचार्य, कर्णालीमा गणेशबहादुर ऐर र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पुरुषोत्तम कँडेलको सरुवा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा वसन्तकुमार पन्तलाई पठाइएको छ । उनी कर्णाली प्रदेश प्रहरी कार्यलयमा कार्यरत थिए । डीआईजी घनश्याम अर्याललाई विशेष ब्यूरोमा सरुवा गरिएको छ ।
सीआईवीमा राम्रो काम गरेर चर्चामा आएका सहकुल बहादुर थापाको भने प्रधान कार्यालयमा सरुवा भएको छ । डीआईजी मध्य उनी वरिष्ठ पनि हुन । उनको प्रदेश १ मा सरुवा हुने चर्चा चलेको थियो । यसैगरी महत्वपूर्ण मानिएको प्रबन्ध शाखामा प्रकाश अधिकारीको सरुवा भएको छ ।
प्रतिकृया