सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। झापाको सुरुङ्गामा जारी कनकाई कप भलिबल प्रतियोगिताको आइतबार सम्पन्न खेलमा जित हात पार्दै आमचोक गाउँपालिका भोजपुर र झापा गाउँपालिका झापा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
आमचोकले कनकाई नगरपालिकालाई २५-१२,२५-१५ र २५-२० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो।
आमचोकलाई सेमिफाइनल सम्म पुर्याउन रोमन बस्नेत, प्रदिप श्रेष्ठ, जोसन खड्का र राजकुमार तामाङले उत्कृष्ट प्रदर्शन गरेका थिए। सो खेलको म्यान अफ दि म्याच आमचोकका रोमन बस्नेत भए ।
त्यस्तै अर्को खेलमा झापा गाउँपालिकाले भद्रपुर नगरपालिकालाई ३-१ को सेटमा पराजित गरेको थियो। पहिलो सेट २५-२२ ले गुमाएको उसले दोश्रो सेटमा उत्कृष्ट पुनरागमन जनाउदैं २५-२१ ले खेल आफ्नो पक्षमा पारेको थियो।
त्यसपछि तेश्रो सेटमा पनि रविन गौतम, सुमन राना मगर र रोहित शिवाकोटी चम्किएपछि खेलमा २५-१६ को जित निकालेको थियो ।
त्यसपछि चौथो सेटमा २५-२३ को जित निकाल्दै झापाले प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो। सो खेलको म्यान अफ दि म्याच झापाका रविन गौतम भए । पराजयसँगै कनकाई र भद्रपुर नगरपालिका भने लगातार दुई खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएका छन्।
सोमवार समुह चरणको अन्तिम खेलमा समुह विजेता र उपविजेताको टुङ्गो लाग्ने छ । सोमवार पहिलो खेलमा दमक नगरपालिका र आमचोक गाउँपालिका आमनेसामने हुनेछन्।
प्रदेश १ स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता भए पनि प्रतियोगितामा तीन खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनिवार्य भएकाले दमकका तर्फबाट राष्ट्रिय खेलाडीहरु धन बहादुर भट्ट, हरिहजुर थापा र हरिबहादुर अधिकारी पनि सहभागी छन् ।
त्यस्तै दोश्रो खेलमा बेलबारी नगरपालिका र झापा गाउँपालिका प्रतिस्पर्धा गर्ने छन् । सो खेलले समुहको विजेता र उपविजेता टुङ्गो लाग्ने छ। झापा र बेलबारी समुह बि मा छन् ।
प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार एक सय एघार तथा उप-विजेताले नगद एकाउन्न हजार प्राप्त गर्ने छन्। प्रतियोगितामा प्रदेश १ का ६ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको आयोजना सुरुङ्गा जेसिजले गरेको हो ।
प्रतिकृया