दमक। झापाको दमकमा प्रदेश स्तरीय वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता बारे आज वडा नम्बर-३ को वडा कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो। आगामी १८,१९ र २० गते हुने सो प्रतियोगिताको विजेताले नगद एक लाखसँगै ट्रफी हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद ५० हजार प्राप्त गर्ने आयोजक समितिका संयोजक राजु श्रेष्ठले जानकारी दिनुभयो। त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद २ हजार प्राप्त गर्ने पनि संयोजक श्रेष्ठले जानकारी दिनुभयो।
दमकको वडा नम्बर-३ को वडा खेलकुद समितिको आयोजनामा हुनलागेको सो प्रतियोगितामा प्रदेश १ का विभिन्न जिल्लाका १८ पालिकाहरुको सहभागिता रहनेछ।
प्रतियोगिता सफल पार्न प्रथम पुरस्कारको राशि समाजसेवी उद्धव दाहालले प्रदान गर्ने जनाउनु भएको छ। त्यस्तै दोस्रो पुरस्कारको राशि भलिबलका पुर्व राष्ट्रिय खेलाडी धन बहादुर श्रेष्ठले प्रदान गर्ने आयोजकले जनाएको छ। श्रेष्ठ हाल हङकङमा हुनुहुन्छ।
प्रत्येक वर्ष आयोजना गर्ने उद्देश्यका साथ संचालन गर्ने तयारी गरिएको यस प्रतियोगिताको लागि वडा कार्यालयले एक लाख ५० हजार उपलब्ध गराउने वडा अध्यक्ष नविन वरालले जानकारी दिनुभयो।
प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख २० हजार खर्च हुने आयोजकले जनाएको छ। प्रतियोगिता दमक -३ स्थित प्रस्तावित मदनभण्डारी रंगशालामा संचालन हुनेछ। पत्रकार सम्मेलनमा भलिबलका पूर्व राष्ट्रिय खेलाडी शैलेन्द्र श्रेष्ठ, आयोजकका प्रेम बास्तोला लगायतको उपस्थिति रहेको थियो।
प्रतिकृया