इटहरी। पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्नितर्गत निर्माणाधीन काँकरभिट्टा–लौकही सडक आयोजनाको क्रममा सुनसरीको इटहरी उपमहानगरपालिकामा एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा एशियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा सञ्चालित राजमार्ग अभिवृद्धि आयोजनाअन्तर्गत शुक्रबार आयोजित कार्यक्रममा वडा नं. ४, ५, ६, १६ र १७ का स्थानीय बासिन्दा, सडक निर्माणमा संलग्न श्रमिक, यातायातकर्मी तथा अन्य चलायमान जनसंख्यालाई लक्षित गरी सचेतना प्रदान गरिएको थियो।
कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ जीवन सिंहले सडक निर्माणसँगै बाहिरबाट कामदारको आवागमन बढ्दा महिला, बालबालिका तथा स्थानीय समुदायमा यौनजन्य हिंसा, दुर्व्यवहार र मानव बेचबिखनको जोखिम बढ्न सक्ने बताइन्। उनले एचआईभी/एड्स तथा यौन रोगबाट बच्न समयमै परीक्षण, उपचार र आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिइन्।
स्वास्थ्यकर्मी शोभा भट्टराईले एचआईभी/एड्स तथा यौन रोगसम्बन्धी जानकारी प्रस्तुत गरेकी थिइन् भने जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायव निरीक्षक कोपिला भुजेलले मानव बेचबिखनका जोखिम तथा सुरक्षाका उपायबारे प्रस्तुति दिएकी थिइन्।
कार्यक्रमकी प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीले सडक निर्माणका लागि विभिन्न देशबाट कामदारहरू आउने भएकाले सम्भावित जोखिमबाट बच्न स्थानीय बासिन्दा सचेत हुनुपर्ने बताइन्।
उनले आयोजनासँग सम्बन्धित निकायहरूले पनि यस विषयमा गम्भीर ध्यान दिनुपर्ने उल्लेख गर्दै सहभागीहरूलाई कार्यक्रमबाट प्राप्त जानकारी समुदायका अन्य व्यक्तिसम्म पुर्याउन आग्रह गरिन्। साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा आयोजनाप्रति धन्यवाद व्यक्त गरिन्।
कार्यक्रममा इटहरी उपमहानगरपालिका, काँकरभिट्टा–लौकही सडक आयोजनाका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, शिक्षक तथा स्थानीय गरी ८० भन्दा बढीको सहभागिता रहेको थियो।
विज्ञ सिंहका अनुसार झापा, मोरङ र सुनसरीका विभिन्न पालिकामा यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ। इटहरीमा सम्पन्न कार्यक्रमसँगै तीन जिल्लाका १३ वटा पालिकामा यस्ता कार्यक्रम सम्पन्न भइसकेका छन्।
सडक निर्माण क्षेत्र आसपास लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सडक छेउका ६० स्थानमा साइनबोर्ड राख्ने लक्ष्यअनुसार झापा, मोरङ र सुनसरीका करिब ६० स्थानमा साइनबोर्ड स्थापना गरिसकिएको जानकारी पनि दिइयो।
त्यसैगरी आयोजनाअन्तर्गत सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सडक छेउका विद्यालयका शिक्षक तथा विद्यार्थी र सार्वजनिक सवारीसाधनका चालकहरूलाई लक्षित गरी सञ्चालन गरिने जनाइएको छ। कार्यक्रमको सहजीकरण जीवन सिंहले गरेकी थिइन्।
प्रतिकृया