सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
बिर्तामोड। सामाजिक अभियन्ता महेन्द्रकुमार ज्योति गिरीले छोरीको जन्मदिनमा पत्रकार उपचार कोषको लागि आर्थिक सहयोग गर्नु भएको छ।
उहाँले छोरी कृतिमाको जन्मोत्सवको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाद्धारा स्थापित पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गर्न भएको हो।
गिरी परिवारले मंगलबार पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विष्णु निष्ठुरी, झापा शाखाका अध्यक्ष एकराज गिरी र पूर्व अध्यक्ष कृष्ण हुमागाईलाई बिर्तामोड-४ स्थित आफ्नै निवासमा एक कार्यक्रम आयोजना गरी उक्त रकमको चेक प्रदान गर्नु भएको हो।
हाल काडमाडौंको ग्लोबल कलेजमा कक्षा ११ मा अध्ययनरत् कृतिमाको जन्मदिन भने कार्तिक ५ गते हो । सो अवसरमा उनले आफ्नो जन्मोत्सवको अवसर पारी झापाली पत्रकारहरुको हितमा माता–पिताले सहयोग गर्नुभएकोमा खुशी व्यक्त गर्दै आफ्नो रुचि पनि समाजसेवा रहेको बताइन् ।
सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले आफ्नो कमाईको केही अंश सामाजिक र परोपकारी काममा खर्च गर्ने सोच अनुसार पत्रकारको दीगो हितका लागि स्थापित उपचार कोषमा सहयोग प्रदान गरिएको बताउनुभयो।
लक्ष्य अनुसार कोषलाई छिट्टै एक करोड रुपैया बनाउन जोड दिदै उहाँले आफ्नो तर्फबाट अझ सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो।
पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विष्णु निष्ठुरीले पत्रकारको दीगो हितका लागि झापामा उदाहरणीय कार्य भएको भन्दै सहयोगका लागि गिरी परिवारलाई धन्यवाद दिनुभएको थियो ।
त्यस्तै झापा शाखाका पूर्व अध्यक्ष कृष्ण हुमागाईले गिरी परिवारले गरेको सहयोग झापाली सञ्चार क्षेत्रका लागि महत्वपूर्ण भएको बताउँदै एक पटकका लागि कोषमा सहयोग गरिदिन सबैमा आग्रह पनि गर्नु भयो ।
कार्यक्रमको सहजीकरण महासंघका उपाध्यक्ष केशव भट्टराईले गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ झापाका कोषाध्यक्ष रञ्जित प्रसाई, सदस्य बिनोद पाण्डे, पत्रकारहरु रमेश तिवारी, सन्तोष न्यौपाने, विजय बराल लगायतको उपस्थिति थियो ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।
पत्रकार महासंघ झापाका अध्यक्ष गिरीका अनुसार कोषमा हाल ४६ लाख रुपैयाँ जम्मा भइसकेको छ ।
प्रतिकृया