सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
राम निरौला, कनकाई/ झापाको कनकाई नगरमा क्रियाशिल पत्रकारहरुको संस्था कनकाई सुरुङ्गा प्रेस क्लवले स्थानीय सरकार कनकाई नगरपालिकालाई संचारमैत्री बन्न अनुरोध गर्दै बुधबार ध्यानाकर्षण पत्र बुझाएको छ ।
कोरोना संक्रमणका कारण प्रेस क्लवका तर्फबाट आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै प्रतिनिधिमूलक सहभागितामा अध्यक्ष रामप्रसाद निरौला, उपाध्यक्ष सावित्रा दहाल भट्टराई, सचिव मनोज बस्नेतसहितको पदाधिकारीहरु साथै कनकाई नगरपालिकाका सूचना प्रविधि अधिकृत खगेन्द्र मिश्र समेतको उपस्थितीमा नगर प्रमुख राजेन्द्र पोखरेललाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।
क्लवले स्थानीय सरकारसँग थप संचारमैत्री सुशासन कायम गर्न जोडदार माग गर्दै नगरपालिकाले सार्वजनिक गर्नु पर्ने सवै किसिमका सूचनाहरुमा नगरका कर्मचारी र विज्ञापन एजेन्सीवालाको एकाधिकार अन्त्य हुनु पर्ने तर्फ नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै कनकाई नगरपालिकामा जनप्रतिनिधिले नेतृत्व सम्हाले यता यो चार वर्षको नगरको बजेट पुस्तिकामा हरेक वर्ष विनियोजन भएको “कनकाई नगर पत्रकारिता पुरस्कार” अहिले सम्म सार्वजनिक नभएको विषयमा प्रष्ट पार्नकालागि नगरप्रमुखको ध्यानाकर्षण गराइएको छ ।
क्लवका अध्यक्ष रामप्रसाद निरौला र सचिव मनोज बस्नेतद्वारा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा स्थानीय संचारकर्मी साथै यहाँका संचार माध्यलाई प्राथमिक्ताका साथ सूचना उपलव्ध गराउँन अनुरोध गरिएको छ ।
साथै आगामी दिनमा अझ व्यवस्थित तरिकाले संस्था सञ्चालन गर्ने लक्ष्य सहित आवश्यक भौतिक पूर्वाधार विकास गर्ने क्लवको योजनालाई प्राथमिक्तामा राख्न नगरपालिकालाई अनुरोध गरिएको प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौलाले बताए ।
नगरको आगामी आ.व.२०७८/०७९ को वार्षिक बजेटमा क्लवको भवन निर्माणकालागि आवश्यक जमिन साथै बजेटको व्यवस्थापन गर्न स्थानीय सरकारलाई अनुरोध गरिएको क्लवका अध्यक्ष निरौलाले जानकारी दिए ।
प्रेस क्लवको ध्यानाकर्षण पत्र बुझ्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले समय सापेक्ष सूचना तथा संचार प्रविधिसँग आँफू पनि नजिक रहेकाले स्थानीय तहलाई समेत संचारमैत्री बनाउँने प्रयासमा आँफू सधैं सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
नगरपालिकाको तर्फबाट बजेटमा राखिएको कनकाई नगर पत्रकारिता पुरस्कार विविध कारणले हाल सम्म सार्वजनिक नभएको बताउँदै चालु आर्थिक वर्षदेखि नै नगरपालिकाको विशेष कार्यक्रममा सार्वजनिक गर्ने योजना रहेको नगर प्रमुख पोखरेलले प्रतिवद्धता जनाएका छन् ।
प्रतिकृया