सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
उत्तम रिजाल, झापा। झापाको गौरादह नगरपालिकालाई दाताहरुले दिएको चामलमध्ये ३ हजार एक सय २१ केजी चामल नगर परिसरमा जनप्रतिनिधीको निर्देशनमा गाडेको आज एक महिना पुगेको छ । तर चामल वास्तवमा कति गाडिएको थियो र कस्तो अबस्थामा थियो भन्ने अझै प्रष्ट भइसकेको छैन् । सरोकारवालाहरु तै चुप मै चुप छन् ।
केहि सचेत युवाहरुले आवाज त उठाउदै छन् तर त्यसलाई खासै महत्व दिइएको छैन् । चामल गाडिएको विषयमा युवाहरुको एक समूहले बास्तविकता बाहिर ल्याउन माग गर्दै आवाज उठाएपछि नगरपालिका हाताभित्रै केहि दिन अघि झडपको स्थिति नै श्रृजना भयो । नगरपालिकाले राहत वितरण गर्न प्राप्त भएकोे एक लाख ७६ हजार ३ सय ६० केजी चामल मध्ये ३ हजार एक सय २१ केजी चामल कुहिएको भन्दै गत जेठ १० गते नगर परिसरभित्रै गाडेको जनाएको थियो ।
सो विषयमा परिवर्तनका लागि युवा अभियान नामक एक संस्थाका युवाहरुले राहतका नाममा व्यापक लापर्वाहि भएको भन्दै आँफूखुशी गाडिएकोले कति गाडियो भन्ने यकिन नभएको भन्दै खनेर हेर्नुपर्ने माग राख्दै आएको छ । यस विषयमा नगर प्रमुख रोहित कुमार शाहले दाताहरुबाट प्राप्त भएको चामलमध्ये ३ हजार एक सय २१ केजी चामल खान अयोग्य भएका कारण मुचुल्का उठाइ नष्ट गरिएको र सो चामल विग्रिएकोमा गल्ति स्विकार गर्नु गरिसक्नु भएको छ ।
तर परिवर्तनका लागि युवा अभियानले त्यसको क्षतिपूर्तिको माग अघि सारेको छ । चामल गाडेको विषयमा के हो वास्तविकता भनि जिज्ञासा राख्दा नगर प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष नगेन्द्र भण्डारीले चामलमा मुसाको लिड देखिएको तथा भुइमा छरपष्ट देखिएपछि आँफै खान अयोग्य भएको ठहर गरेर नष्ट गरिएको प्रतिक्रिया दिनुभयो ।
तर भित्रभित्रै आफन्तलाई बाढेको चामलको रेकर्ड नपासँग नभएकाले चामल थाहै नदिइ गाडेको र सो को वास्तविकता बाहिर आए जनप्रतिनिधीहरुको पर्दाफास हुने भएकाले खाडल खनेर स्थानीयले भन्दापनि नदेखाएको कतिपयको भनाई छ । कोरोना भाइरस कोभिड १९ का कारण खान समस्यामा परेका अति विपन्न परिवारका लागि दाताहरुले राहतको लागि भन्दै पालिकालाई राहत उपलब्ध गराएका थिए । दाताहरुले दिएको राहत लक्षित वर्गलाई नदिएर खाडलमा गाडेकाले दाताहरुले असन्तुष्टि जनाएका छन् ।
कतिपय दाताहरुले नगरपालिकाको यस किसिमको कार्यले अब नगरपालिकालाई आगामी दिनमा के का लागि सहयोग गर्नु भन्ने अबस्था श्रृजना भएको प्रतिक्रिया दिनुभयो । पालिकाको यस कामको विभिन्न राजनीतिक दलहरुले विरोध जनाएका छन् । यद्यपि महिना दिन वितिसक्दा पनि यस विषयको बास्तविकता भने पत्ता लाग्न सकेको छैन् ।
दाताहरुले दिएको चामल कुहिएर खाडलमा गाडिनुले जनप्रतिनिधीहरुको विपन्न परिवार प्रतिको बैमानी मात्र होईन् अपमान पनि हो । यस विषयमा सबै राजनीतिक दल गंभीर हुन जरुरी छ ।
प्रतिकृया