काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली पुरुषसँग विवाह गर्नेवित्तिकै विदेशी महिलालाई नागरिकता दिन नहुने बताएका छन् ।
मंगलबार नेकपा एमालेको पर्सा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले विवाह गरेको केही अवधि राखेर मात्र नागरिकता दिनु उचित हुने बताएका हुन् ।
‘वैवाहिक अंगीकृतले आवश्यक समय पूरा गरेपछि नागरिकता प्राप्त गर्छ । त्यो जग्गेमै त दिने होइन त । अलिकति समय हेर्नुपर्यो, त्यो विवाह साँच्चै हो कि होइन त्यो टिक्छ कि टिक्दैन ?’ ओलीले भने ।
ओलीले आफू गृहमन्त्री भएका बेला ०५१ सालमै नागरिकताको समस्या समाधान गर्न धनपति उपाध्यायको नेतृत्वमा आयोग गठन गरेको बताए । त्यस्तै पछिल्लो पटक आफू प्रधानमन्त्री भएपछि नागरिकता विधेयक पेश गरेको तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेको रोक्यै गरेको ओलीले आरोप लगाए ।
२०७५ सालमा तत्कालीन ओली सरकारले प्रतिनिधिसभामा नागरिकता विधेयक पेश गरेको थियो । उक्त विधेयकमा सुरुमा वैवाहिक अंगीकृत नागरिकता दिन अवधि तोक्ने व्यवस्था थिएन ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले २२ महिनासम्म छलफलपछि प्रतिनिधिसभा बैठकमा पेश गरेको प्रतिवेदनमा भने वैवाहिक अंगीकृतमा ७ वर्षे प्रावधान राखिएको थियो ।
प्रतिकृया