सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
केरखा। नेकपा एमालेका स्थाई कमिटी सदस्य एवं झापा क्षेत्र नम्बर ५ क का उमेदवार हिक्मत कार्कीले झापाको कमल ५ पाडाजुङ्गीमा निर्माणको चरणमा रहेको आदिबासी रंगशाला सोहि स्थानमा बन्ने बताउनु भएको छ । प्रदेश १ का पूर्व आन्तरीक मामिला तथा कानून मन्त्री समेत रहनु भएका कार्कीले कुनै पनि विवाद वा बहानामा दूरगामी महत्वका योजना प्रभावित पार्न नहुने भन्दै सो रंगशालाको निर्माण नरोकिने बताउनु भएको हो ।
आसन्न प्रदेश सभाको निर्वाचनमा झापा ५ क का उम्मेद्वार रहनु भएका कार्कीले रंगशाला निर्माणकै लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले आफ्नो पहलमा एक करोड रुपैयाँ बिनियोजन गरेको पनि बताउनु भएको छ । उहाँले रंगशाला अन्यत्र सार्ने गलत हल्ला फैलाएको भन्दै हल्लाको पछि नलाग्न कमलबासीलाई आग्रह समेत गर्नुभयो । लोकतान्त्रिक आदिबासी जनजाती महासंघले केरखामा गरेको भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले आफु यसै क्षेत्रको जनप्रतिनिधी भएको नाताले शुरु गरिएका योजना रोक्न नहुने भन्दै बजेट बिनियोजनामा पहल गरेको पनि बताउनुभयो ।
कमलमा बन्ने रंगशाला दमक वा अन्यत्र काँहि पनि नसरेको प्रष्ट पार्दै उहाँले कमलमा बन्दा अन्यत्र रंगशाला बन्न नहुने भन्ने नहुने भन्दै रंगशाला निर्माण तथा सो स्थानमा रहेका समाधी स्थल रहेका व्यक्तिहरुको सम्मानमा स्मारक समेत बनाईने बताउनुभयो ।
यसैगरि आफ्नो पहलमा प्रदेश १ मा नेपालका सवै जात जातिको पहिचान समेटिने वृहत संग्राहालय बनाउने योजना प्रदेश सरकारले योजना बैकमा समावेश गरेको बताउँदै जग्गाको व्यवस्थापन हुन सके कमल र शिबसताक्षी मै सो योजना पनि कार्यान्वयन गर्ने बताउनुभयो ।
यसैगरी रतुवा माई वृक्षा रोपण आयोजनाको वन क्षेत्रलाई बहुउपयोगी रुपमा विकास गर्दै तराई क्षेत्रमा पाईने फलफूलको उद्यानको रुपमा विकास गर्ने प्रकृया आफु सहभागी सरकारकै पालामा अघि बढाईएको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य भिम केरुङ्, महासंघका केन्द्रिय सदस्य चन्द्र सुव्वा लगायतले आगामी निर्वाचनमा अनुहार हेरेर नभई एजेण्डा बोक्न सक्ने उम्मेद्वारलाई बिजयी गराउनु पर्ने बताउनुभयो ।
प्रतिकृया