गौरादह। पाँच दलीय गठबन्धन देशका लागि गलगाँड भएको एमाले नेता तथा झापा क्षेत्र नम्बर ५ क का उमेद्वार हिक्मतकुमार कार्कीले बताउनु भएको छ । झापाको गौरादहमा पार्टीका अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा कार्यक्रममा बोल्दै उमेद्वार कार्कीले यस्तो बताउनु भएको हो । उहाँले सत्ता गठबन्धन देशका लागि शरिरमा भएको गलगाँड जस्तै भएको उल्लेख गर्दै गलगाँड रुपी गठबन्धनलाई आगामी मंसिर ४ गतेको निर्वाचनमा जनता रुपी डाक्टरले मतपत्र रुपी औजारमार्फत अपरेशन गर्दै सदाको लागि समाप्त गर्ने बताउनुभयो । नेता कार्कीले गठबन्धन विदेशीको डिजाईनमा बनेको भन्दै देशको हितमा नभएको पनि उल्लेख गर्नुभयो । उहाँले केपी ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो भनेर भनेकै कारण भारतले केपी ओली नेतृत्वको सरकार ढाल्न उसका कारिन्दाहरुलाई प्रयोग गरेको पनि कार्कीले बताउनुभयो । त्यस्तै नेता कार्कीले नेपालीहरु नै अल्पमतमा पर्नेगरी विदेशीलाई नागरिकता दिन नसकिने पनि बताउनुभयो । उहाँले पाडाजुँगीमा बन्ने भनिएको अन्तराष्ट्रिय रंगशाला एमालेले दमकमा सार्यो भन्ने हल्ला फिँजाएको पाईएको भन्दै त्यो भ्रामक प्रचार भएको स्पष्ट पार्नुभयो । उहाँले आफ्नै पालामा आदिवासी रंगशाला पाडाजुँगीमै बनाउने दाबी समेत गर्नुभयो । उहाँले केन्द्रमा केपी ओलीको नेतृत्वको सरकार बन्ने र प्रदेशमा पनि एमालेकै सरकार बन्ने भन्दै केपी ओलीसँग सिधै कुरा गरेर आफ्नै पालामा रंगशाला बनाउने उल्लेख गर्नुभयो । साथै नेता कार्कीले यस क्षेत्रको विकासका लागि आगामी ५ बर्षमा कुनै कसर बाँकी नराख्ने भन्दै केपी ओलीले दोब्बर बढी मतले जित्ने दाबी समेत गर्नुभयो । त्यस्तै नेता कार्कीले आँफुले पनि यस निर्वाचनमा करिब सात हजार पाँच सय मतले जित्ने भन्दै विकास र सम्मृद्धिको सपना पुरा गर्न कार्यकर्ताहरुलाई निर्वाचन केन्द्रित भएर लाग्न निर्देशन समेत दिनुभयो ।
प्रतिकृया