गौरादह। नेकपा एमालेका नेता तथा झापा क्षेत्र नम्बर ५ क का उमेद्वार हिक्मत कुमार कार्कीले एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री भएकाबेला भारतसँग आँखा जुधाएर कुरा गरेकाले केपी ओली नेतृत्वको सरकार ढालेको बताउनु भएको छ । झापाको गौरादहमा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कार्कीले यस्तो बताउनुभएको हो । उहाँले केपी ओलीले क्षेत्रफलमा देश सानो ठुलो होला तर देशको हैसियत समान भएको बताएपछि भारतकै इसारामा ओली नेतृत्वको सरकार ढाल्न पार्टी भित्रैका केहि नेताहरु लागेको उल्लेख गर्नुभयो । उहाँले नेकपा एमाले देश र जनताको पक्षमा अडिक भएर लागेकै कारण एमाले विरुद्ध गठबन्धन तयार पारिएको पनि बताउनुभयो । नेता कार्कीले अबको एमालेको सरकार बनेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी नक्सामा मात्र नभइ जमिन नै नेपालमा ल्याइने दाबी समेत गर्नुभयो । उहाँले एमालेको राष्ट्रियता प्रतिको अडान चट्टान स्वरुप रहेको भन्दै बास्तविक नेपाली नै अल्पतमा पर्नेगरी नागरिकता दिन नसकिने दोहोर्याउनुभयो । उहाँले बैबाहिक अंगीकृतहरुको हकमा सात बर्षे प्रावधान राख्नु पर्छ भन्ने प्रवधानसहितको विधेयक केपी ओली प्रदानमन्त्री हुँदा संसदमा लगेको भएपनि पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र देउवा पत्नी आरजु राणा देउवा भारत भ्रमणमा गएपछि कालन्तरमा नेपालीहरु नै अल्पमतमा पर्नेगरी सात बर्षे प्रावधान हटाएर नागरिकता विधेयक ल्याइएको र सो राष्ट्रहित विपरीत भएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले विवेक पुर्याएर लालमोहर नलगाउनु भएको स्पष्ट पार्नुभयो । उहाँले एमालेले अहिले नागरिकता पाएका सबै नेपालीहरुका सन्तानलाई नागरिकता दिनुपर्छ भनेको भन्दै काला छाला भएकाहरुलाई एमालेले नागरिकता दिन मानेन भनेर विरोधिहरुले भ्रम फैलाएको बताउनुभयो । उहाँले छाला काला भएका पनि बास्तविक नेपाली हुन भन्दै विदेशीहरुलाई अंगिकृत नागरिकता दिँदा मात्र सात बर्षे प्रावधान राख्नुपर्छ भनेर एमालेले भनेको स्पष्ट पार्नुभयो । त्यस्तै नेता कार्कीले अहिलेको विधेयकमा आमाको नामबाट पनि नागरिकता पाउने प्रावधान हटाइएकोले सोको पनि एमालेले विरोध गरेको बताउनुभयो । उहाँले राष्ट्रियता कम्जोर पार्नेगरी एमालेले निर्णय गर्न नसक्ने भन्दै मुलुकको संमृद्धि र विकासका लागि निर्वाचन केन्द्रित भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।
प्रतिकृया