सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
झापा। १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछ । आज हुने पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र स्पेन प्रतिस्पर्धा गर्नेछन भने दोस्रो खेलमा बेल्जियम र इटाली आमने–सामने हुनेछन् ।
स्विट्जरल्यान्ड र स्पेनबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे शुरु हुनेछ । सो खेल रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा हुनेछ भने बेल्जियम र इटालीबीचको खेल राति १२ः४५ बजे जर्मनीको एलिनाज स्टेडियममा हुनेछ ।
स्वीजरल्याण्ड साविक उपविजेता फ्रान्सलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको टोली हो । प्रि–क्वाटरफाइनलमा स्विट्जरल्यान्डले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेको थियो ।
त्यस्तै तीन पटकको च्याम्पियन स्पेनले क्रोएसियालाई हराएर अन्तिम आठको यात्रा तय गरेको हो । प्रि–क्वाटरफाइनलमा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पाखा लगाएको थियो ।
स्विट्जरल्यान्ड र स्पेनबीच युरोपियन च्याम्पियनसिपमा यो पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । विश्वकपमा भने दुई टिम तीन पटक आमने–सामने भएका छन् । जसमा स्पेनले दुई खेलमा बाजी मार्दा स्विट्जरल्यान्डले एक खेलमा बाजी मारेको थियो ।
यी दुई टिमबीच अहिलेसम्म २२ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १६ खेल जितेको छ । पाँच खेल बराबरीमा सकिदा एक खेल स्विट्जरल्यान्डले जितेको छ ।
उता फिफा वरीयताको शीर्ष स्थानको बेल्जियमले साविक विजेता पोर्चुगललाई हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको हो । यी दुई टिमबीच हालसम्म २२ खेल भएको छ । जसमा इटालीले १४ खेल जितेको छ । चार खेल बेल्जियमले जित्दा ४ खेल बराबरीमा सकिएको छ ।
मुख्य प्रतियोगितामा दुई टिमबीच पाँचौ पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको चार भेटमा इटालीले ३ जित निकाल्दा एक खेल बराबरीमा सकिएको थियो ।
प्रतिकृया