सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
उत्तम रिजाल, दमक। झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा जारी प्रथम जय हुमागाई स्मृति गोल्डकपको शनिबार सम्पन्न खेलमा जित हात पार्दै बिवाईएससी मिनिसोटा अमेरिका प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । उसले उपाधि दाबेदार मानिएको भारतको युकेएफसी दार्जिलिङ्गलाई टाईब्रेकरमा ४–३ ले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।
निर्धारित समय सम्म एक–एकको बराबरी भएपछि भएको टाईब्रेकरमा विजयी टिमकातर्फबाट थोमस सकोर, रिली उरी, सुदिप तामाङ्ग र रेनेले गोल गरेका थिए । उसका रोजन प्रजापतिको पेनाल्टि भने दायाँ पोलमा लागेर बाहिरिएको थियो । उता पराजित युकेएफसी दार्जिलिङ्गका तर्फबाट भने कोमल खबास, सत्यम शर्मा र रुस्तम प्रधानले मात्र गोल गरे ।
उसका दुई पेनाल्टि बिवाईएससीका गोलकिपर पुजन थापा मगरले बिफल बनाएका थिए । मगरले हेमराज भुजेल र दिवाकर चौधरीको प्रहार बिफल बनाएका थिए । यद्यपि खेलमा अग्रता भने युकेएफसी दार्जिलिङ्गले लिएको थियो । उसका जर्सी नम्बर १७ का हेमराज भुजेलले १८ औं मिनेटमा शानदार गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
तर पहिलो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा बिवाईएससीका थोमस साकोरले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । दोश्रो हाफको तेश्रो मिनेटमा युकेएफसीका हेमराज भुजेल गोल गर्न चुके । उनी वान भर्सेस वानमा पनि गोल गर्न असफल भएका थिए । त्यतिखेर बिवाईएससीका गोलकिपर मगरले बिफल बनाएका थिए ।
त्यस्तै दोश्रो हाफको ३४ औं मिनेटमा बिवाईएससीका जर्सी नम्बर ७ का हेक्टर एन्जलको हेड दायाँ पोलमा लागेर फर्किएको थियो भने त्यसको चार मिनेटपछि जर्सी नम्बर २१ का रेनीको कडा प्रहारमा पनि पोल बाधक बन्यो । उनले प्रहार गरेको बल बायाँ पोलमा लागेर बाहिरिएको थियो ।
त्यसपछि पनि दुबै टिमको गोलका अबसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा निर्धारित समय सम्म खेल बराबरीमा सकिएको थियो । खेलको म्यान अफ द म्याच विजयी टिमका गोलकिपर पुजन थापा मगर भए । उनले नगद पाँच हजार हात पारे । आइतबार पहिलो सेमिफाईनलमा एभनिर एफसी क्यामरुन र सल्हेस युवा क्लब सिरहा आमनेसामने हुनेछन् ।
प्रतियोगिताको विजेताले नगद पाँच लाख तथा उप–विजेताले नगद तीन लाख हात पार्नेछन् । त्यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले नगद पच्चिस हजार, विधागततर्फका उत्कृष्ट खेलाडीले जनही ७ हजार हात पार्ने खेल संयोजक तारा कालिकोटेले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल, भारत, अमेरिका र क्यामरुनका गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको आयोजना जय हुमागाई मेमोरियल ट्रष्टले गरेको हो ।
प्रतिकृया