सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
इटहरी। सुनसरीको इटहरीमा मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता जेठ २९ गतेदेखि ३२ गतेसम्म हुनेछ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा हुन लागेको सो प्रतियोगितामा तीन विभागीय टोलीसहित ६ टिमको सहभागिता रहने आयोजक प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए ।
विभागीय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफसहित वाग्मती, लुम्बिनी र कोशी प्रदेश सहभागी हुनेछन् ।
कुल २५ लाख रुपैयाँ खर्च हुने प्रतियोगितामा प्रत्येक टिमका १२ खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक गरी १४ जनालाई यातायात खर्च र नियम अनुसार दैनिक भ्रमण भत्ता उपलब्ध गराइने पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ हात पार्नेछन् ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार रुपैयाँ पाउने छन् भने विधागततर्फका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
अत्यधिक गर्मी भएकाले प्रतियोगिता रातिको समयमा आयोजना गर्न लागिएको सुनसरी जिल्ला भलिबल संघका अध्यक्ष विक्रमबाबु थापाले बताए।
यसअघि प्रतियोगिता जेठ १८ देखि २१ गतेसम्म इटहरीमै आयोजना गर्ने कार्यतालिका रहे पनि सदस्य सचिव बर्खास्ती प्रकरणले ढिलाइ भएको हो ।
मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता भने गत वैशाख १४ देखि १६ गतेसम्म झापाको दमकमा भएको थियो ।
प्रतिकृया