काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषदको बैठक बोलाउने सहमति भएको छ ।
आइतबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।
छलफलका क्रममा संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्का अन्य सदस्यसँग छलफल गरेर छिट्टै परिषद् बैठक बोलाउने बताएका थिए । परिषद्को बैठकको मिति भने तोकिएको छैन ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिंदैछ । प्रधानन्यायाधीशको कार्यकाल सकिन एक महिनाअघि नै प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि हालसम्म संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन ।
प्रतिकृया