सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
चीनले ताइवानमाथि आक्रमणको तयारीलाई गम्भीरताका साथ लिएको संकेत दिन थालेको छ। जनमुक्ति सेनाका सैनिकहरुले बलिदानको कसम समेत खाएका छन्।
सीसीटीभीमा मंगलबार प्रसारित आठ एपिसोडको एक डकुमेन्ट्री शृंखलामा त्यसरी सैनिकहरुले बलिदानको बाचा गरेका हुन्।
चु मेङ नामक सो डकुमेन्ट्रीमा एक लडाकु विमानका पाइलट आवश्यक परे आत्मघाती आक्रमणका लागि तयार रहेको समेत बताउँछन्।
‘मेरो अन्तिम क्षेप्यास्त्र भनेकै मेरो लडाकु विमान हुनेछ। वास्तविक लडाइँमा मेरा सबै हतियार सकिए यही विमान दुश्मनमाथि प्रहार हुनेछ,’ चीनको सबैभन्दा आधुनिक जे–२० लडाकु विमानका पाइलट ली पेङ भन्छन्।
उनी इस्टर्न थिएटर कमान्डको एक टुकडीका पाइलट हुन्, जसले ताइवान हेर्ने गर्छ।
नौसेनाको माइन हटाउने टुकडीका सैनिक चुओ फेङ पनि त्यसै भन्छन्।
‘यदि युद्ध भयो र सुरक्षित रुपमा माइन हटाउन सक्ने अवस्था रहेन भने त्यसलाई हटाएर हाम्रो फौजका लागि सुरक्षित मार्ग बनाउन हामी आफ्नै शरीर पनि प्रयोग गर्नेछौँ,’ उनी भन्छन्।
यो डकुमेन्ट्रीमा जनमुक्ति सेनाका दर्जनौँ सैनिकहरुको व्यक्तिगत कथाहरु प्रस्तुत गरिएको छ।
पछिल्लो समय अमेरिकासँग सम्बन्ध चिसिएसँगै चीनले ताइवानमाथि आक्रमण गर्ने खतरा बढेर गएको छ।
अमेरिकी सैन्य अधिकारीहरुले २०२७ सम्ममा चीनले ताइवानमाथि आक्रमण गर्ने चेतावनी समेत दिएका छन्।
यो डकुमेन्ट्रीले चिनियाँ सेनाको तयारीबारे जानकारी दिन्छ। सिरिजको केही भागमा गत अप्रिलमा ताइवान वरिपरि गरिएको सैन्य अभ्यासको कथा देखाइएको छ।
एउटा आक्रमणकारी टुकडीले समुद्रबाट टापुमाथि आक्रमणको अभ्यास गर्दै गरेको दृश्य पनि यसमा देखाइएको छ। सो क्रममा बमवर्षक विमान, क्षेप्यास्त्र, रकेट र हेलिकोप्टरले सघाएका छन्।
‘यो जलसन्धिको अर्कोपट्टि गएर म हेर्न चाहन्छु,’ वाङ सिन्जाइ नामक सैनिक भन्छन्, ‘म त्यो दिनका लागि तयारी गरिरहेको छु।’
सैन्य कमान्डर सोङ चोङपिङले ताइवानी सेनाविरुद्ध जनमुक्ति सेनाको आत्मविश्वास दर्शाउनु यो डकुमेन्ट्रीको उदेश्य भएको बताए। तर, सन्देश भने अमेरिकालाई पनि दिन चाहेको उनको भनाइ छ। एससीएमपी
प्रतिकृया