कन्काई। निर्माणाधीन अवस्थामा रहेको पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडक आयोजनाअन्तर्गत झापाको कन्काई नगरपालिकामा एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
मंगलबार कन्काई नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र एशियाली विकास बैंक (ADB) को आर्थिक सहयोगमा सञ्चालित राजमार्ग अभिवृद्धि आयोजना अन्तर्गत आयोजना गरिएको हो।
कार्यक्रममा कन्काई नगरपालिका–१, २, ३, ४, ७ र ८ नम्बर वडामा सडकसँग जोडिएर बसोबास गर्ने महिला–पुरुष, सडक निर्माणमा संलग्न श्रमिक, यातायातकर्मी तथा अन्य चलायमान जनसंख्यालाई लक्षित गरी एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखनको जोखिमबारे जानकारी दिइएको हो।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका विज्ञ जीवन सिंहका अनुसार सडक निर्माणका क्रममा बाहिरबाट काम गर्न आउने व्यक्तिहरूबाट महिलाहरु, बालबालिका र स्थानीयवासीमा यौनजन्य हिंसा, दुर्व्यवहार तथा मानव बेचबिखनजस्ता जोखिम बढ्न सक्ने भएकाले समयमै परीक्षण, उपचार तथा सतर्कता आवश्यक रहेको उल्लेख गरिन्।
कार्यक्रममा स्वास्थ्यकर्मी दीपक दाहालले एचआईभी/एड्स तथा यौन रोगसम्बन्धी जानकारी प्रस्तुत गरेका थिए भने इलाका प्रहरी कार्यालय अनारमनीका सई प्रदीप आले मगरले मानव बेचबिखनसम्बन्धी जोखिम र सुरक्षा उपायबारे प्रोजेक्टरमार्फत प्रस्तुति दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि उप–प्रमुख आशा शर्मा शिवाकोटीले सडक निर्माणका लागि विभिन्न स्थानबाट कामदार आउने भएकाले त्यसबाट हुनसक्ने जोखिमप्रति नगरवासी सचेत रहनु पर्नेमा जोड दिइन्। साथै, आयोजनाका सरोकारवालाले पनि गम्भीर भएर निगरानी गर्नु आवश्यक रहेको बताउँदै सहभागीहरूले सिकेका कुरा समुदायमा बाँड्न आग्रह गरिन्।
कार्यक्रममा कन्काई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, काँकरभिट्टा–लौकही योजना (पूर्वी खण्ड)का इन्जिनियर आश्रय महत, परामर्शदाता कम्पनीका डिपुटी टिम लिडर देवकुमार तामाङ, आवासीय इन्जिनियर राजेन्द्र चिल्वाल, विभिन्न विद्यालयका शिक्षक/शिक्षिका, सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय गरी ९० भन्दा बढीको सहभागिता रहेको थियो।
विज्ञ सिंहका अनुसार काँकरभिट्टा–लौकही सडक आयोजनाअन्तर्गत झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न पालिकामा यस्ता जनचेतना कार्यक्रम सञ्चालन भइरहेका छन्। साथै, सडक छेउका विभिन्न स्थानमा एचआईभी/एड्स, यौन रोग र मानव बेचबिखनसम्बन्धी चेतनामूलक साइनबोर्डहरू पनि राखिने जानकारी दिइन्। कार्यक्रमको सहजीकरण समेत सिंहले नै गरेकी थिइन्।
प्रतिकृया