शिवसत्ताक्षी। पूर्वपश्चिम राजमार्ग अन्तर्गत निर्माणाधीन काँकरभिट्टा–लौकही सडक आयोजना निर्माणको सिलसिलामा झापाको शिवासताक्षी नगरपालिकामा एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र एशियाली विकास बैंक (ADB) को आर्थिक सहयोगमा सञ्चालित राजमार्ग अभिवृद्धि आयोजना अन्तर्गत गरिएको हो।
कार्यक्रममा वडा नम्बर १, ८, ९, १० र ११ का स्थानीय बासिन्दा, सडक निर्माणमा संलग्न श्रमिक, यातायातकर्मी र अन्य चलायमान जनसंख्यालाई लक्षित गरी एचआईभी/एड्स, यौन रोग र मानव बेचबिखनका जोखिमबारे जानकारी दिइयो।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ जीवन सिंहले सडक निर्माणसँगै बाहिरबाट आउने कामदारहरूको उपस्थितिले महिलाहरू, बालबालिका र स्थानीयमा यौनजन्य हिंसा, दुर्व्यवहार र मानव बेचबिखनको जोखिम बढ्ने सम्भावना औँल्याउँदै समयमै परीक्षण, उपचार र सतर्कता आवश्यक रहेको बताइन्।
स्वास्थ्यकर्मी दीपक दाहालले एचआईभी/एड्स र यौन रोगसम्बन्धी जानकारी प्रस्तुत गरेका थिए भने दमक इलाका प्रहरी कार्यालयका सई कुमार खतिवडाले मानव बेचबिखन र लागु औषध सम्बन्धी जोखिम र सुरक्षा उपायबारे प्रोजेक्टरमार्फत प्रस्तुति दिएका थिए।
कार्यक्रमकी प्रमुख अतिथि उप–प्रमुख नरमाया कार्कीले सडक निर्माणको क्रममा विभिन्न ठाउँबाट आउने कामदारका कारण समुदायमा पर्न सक्ने प्रभावप्रति सचेत रहनु पर्नेमा जोड दिँदै आयोजनालाई सचेतना कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिइन्। साथै, सहभागीहरूले सिकेका कुरा समुदायमा फैलाउन आग्रह गरिन्।
कार्यक्रममा नगरपालिकाका प्रशासन शाखा अधिकृत डिल्लीराम नेपाल, आयोजना परामर्शदाता तथा आवासीय इन्जिनियर राजेन्द्र चिल्वाल, शिक्षक, सामाजिक संस्थाका प्रतिनिधि र स्थानीय गरी ६० भन्दा बढीको सहभागिता थियो।
विज्ञ सिंहका अनुसार झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न पालिकामा यस्ता जनचेतना कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। साथै, सडक छेउका विभिन्न स्थानहरूमा चेतनामूलक साइनबोर्डहरू पनि राखिनेछ। कार्यक्रमको सहजीकरण सिंहले नै गरेकी थिइन्।
प्रतिकृया