दमक। पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत निर्माणाधीन काँकरभिट्टा-लौकही सडक आयोजनाको सिलसिलामा झापाको दमक नगरपालिकामा एचआईभी/एड्स,यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
बुधबार दमक नगरपालिकाको वार्ड न. ६ पशुपति मन्दिरको सभाहलमा आयोजित उक्त कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र एशियाली विकास बैंक (ADB) को आर्थिक सहयोगमा सञ्चालन भइरहेको राजमार्ग अभिवृद्धि आयोजना अन्तर्गत सम्पन्न गरिएको हो।
कार्यक्रममा वडा नं. ४, ५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दा, सडक निर्माणमा संलग्न श्रमिक, यातायातकर्मी तथा अन्य चलायमान जनसंख्यालाई लक्षित गरी एचआईभी/एड्स, यौन रोग र मानव बेचबिखनका सम्भावित जोखिमबारे जानकारी दिइएको थियो।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ जीवन सिंहले सडक निर्माणसँगै बाहिरबाट आउने कामदारहरूको आवागमन बढ्दा महिलाहरू, बालबालिका तथा स्थानीय समुदायमा यौनजन्य हिंसा, दुर्व्यवहार र मानव बेचबिखनको जोखिम बढ्न सक्ने बताउँदै समयमै परीक्षण, उपचार र सतर्कता अपनाउनुपर्ने आवश्यकता औँल्याइन्।
स्वास्थ्यकर्मी दीपक दाहालले एचआईभी/एड्स तथा यौन रोगसम्बन्धी जानकारी प्रस्तुत गरेका थिए भने दमक इलाका प्रहरी कार्यालयका प्रहरीका सहि कुमार खतिवडाले मानव बेचबिखन तथा लागू औषधसम्बन्धी जोखिम र सुरक्षाका उपायबारे प्रोजेक्टरमार्फत प्रस्तुति दिएका थिए।
कार्यक्रमकी प्रमुख अतिथि दमक नगरपालिकाकी उप-प्रमुख रेगिना भट्टराई प्रसाईंले सडक बनाउन विभिन्न देशबाट कामदारहरु यहाँ आएको बताउनु भयो। उनीहरुबाट हुनसक्ने जोखिमबाट बच्न नगरबासीहरु सचेत हुनु पर्ने र आयोजना हेर्नेले पनि गम्भिर भएर ध्यान दिनु पर्नेमा जोड दिइन्।
साथै कार्यक्रमका सहभागीलाइ यस कार्यक्रम बाट आफुले सिक्केको कुरा समुदायमा अरु मानिसहरुलाई पनि सिकाउन अनुरोध गरिन्। उनले आयोजना बाट जनचेतनाको कार्यक्रम गरेकोमा धन्यबाद समेत दिएकी थिइन्।
कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उप-प्रमुख रेगिना भट्टराई प्रसाईं, प्रशासकीय अधिकृत यज्ञराज निरौला, काकंडभिट्टा-लौकही आयोजनाका प्रतिनिधिहरु, दमक नगरपालिकाका सामाजिक संघसंस्थाका प्रतिनिधि, शिक्षक तथा स्थानीय गरी ७० भन्दा बढीको सहभागिता रहेको थियो।
विज्ञ सिंहका अनुसार झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न पालिकामा यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने योजना अनुसार झापाका ६ वटा पालिकामा कार्यक्रम सम्पन्न भइसकेको छ भने बाँकी मोरङ र सुनसरीका पालिकाहरूमा कार्यक्रम जारी रहेको साथै सडक छेउका ६० स्थानमा लैङ्गिक हिंसाविरुद्ध चेतनामूलक साइनबोर्ड राख्ने लक्ष्यअनुसार हाल मोरङ र सुनसरीका करिब ३० स्थानमा साइनबोर्ड राखिसकिएको र बाँकी स्थानमा राख्ने कार्य भइरहेको जानकारी दिइन्। कार्यक्रमको सहजीकरण पनि सिंहले नै गरेकी थिइन्।
प्रतिकृया